काठमाडौँ । सामाजिक सञ्जालबाट केही समयको विश्राम लिनु मानसिक स्वास्थ्यका लागि साँच्चिकै फाइदाजनक हुन सक्ने तथ्य हालैको एक बृहत् अध्ययनले पुष्टि गरेको छ । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको यो अनुसन्धानलाई ‘सोसल मिडिया डिएक्टिभेसन’बाट प्रयोगकर्ताको भावनात्मक अवस्थामा पार्ने प्रभावबारे अहिलेसम्मकै सबैभन्दा ठुलो प्रयोगात्मक अध्ययन मानिएको छ ।
अनुसन्धानकर्ताहरूले १९,८५७ फेसबुक प्रयोगकर्ता र १५,५८५ इन्स्टाग्राम प्रयोगकर्ता गरी कूल ३५,४४२ जनामा यो प्रयोग गरेका थिए । सहभागी हुनका लागि ती प्रयोगकर्ताहरू सम्बन्धित प्लेटफर्ममा दैनिक कम्तीमा १५ मिनेट सक्रिय भएको हुनुपर्ने मापदण्ड राखिएको थियो । यो अध्ययन सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावअघिको ६ हप्ताको संवेदनशील समयमा गरिएको थियो ।
सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । ‘ट्रिटमेन्ट ग्रुप’ (२७ प्रतिशत सहभागी) लाई ६ हप्तासम्म आफ्नो अकाउन्ट बन्द (Deactivate) गर्न १५० डलर भुक्तानी दिइएको थियो । अर्कोतर्फ ‘कन्ट्रोल ग्रुप’ लाई केवल पहिलो एक हप्ताका लागि मात्र अकाउन्ट बन्द गर्न २५ डलर दिइएको थियो ।
अध्ययनको नतिजाले सामाजिक सञ्जाल बन्द गर्दा प्रयोगकर्तामा खुसी बढ्ने र डिप्रेसन तथा चिन्ता (Anxiety) घट्ने देखाएको छ । फेसबुक बन्द गर्नेहरूमा भावनात्मक स्वास्थ्यको सूचकाङ्कमा ०.०६० Standard Deviation को सुधार देखियो । यो नतिजा तथ्याङ्कीय रूपमा अत्यन्तै बलियो (p < 0.01) मानिएको छ ।
त्यस्तै इन्स्टाग्राम बन्द गर्नेहरूमा ०.०४१ Standard Deviation को सुधार पाइयो । यद्यपि इन्स्टाग्रामको प्रभाव फेसबुकको तुलनामा केही कम थियो र कडा तथ्याङ्कीय परीक्षणहरू (statistical tests) मा यो नतिजा त्यति बलियो ठहरिन सकेन ।
अनुसन्धानले विभिन्न उमेर र समूहमा फरक-फरक प्रभाव फेला पारेको छ । फेसबुक डिएक्टिभ गर्दा सबैभन्दा ठुलो फाइदा ३५ वर्षभन्दा माथिका प्रयोगकर्ता, अनिर्णित मतदाता र कलेज डिग्री नभएका व्यक्तिहरूमा देखिएको थियो ।
त्यस्तै इन्स्टाग्रामको हकमा भने १८ देखि २४ वर्ष उमेर समूहका महिलाहरूमा सबैभन्दा बढी (०.१११ Standard Deviation) सुधार देखिएको थियो ।
अनुसन्धानको एउटा रोचक पक्ष के छ भने प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल नचलाउँदा बचेको समयलाई वास्तविक संसारका गतिविधिहरू (Real-world activity) मा खर्च गरेनन् । इन्स्टाग्राम र फेसबुकबाट बचेको धेरैजसो समय उनीहरूले अन्य मोबाइल एपहरू (जस्तै: युट्युब, टिकटक वा ब्राउजर) चलाउनमा प्रयोग गरेका थिए । यसले के सङ्केत गर्छ भने प्रयोगकर्ताहरूको मुडमा आएको सुधार स्क्रिन टाइम घटेका कारण नभई ती विशेष प्लेटफर्महरू (फेसबुक र इन्स्टाग्राम) को प्रकृति र त्यहाँ देखिने सामग्रीबाट टाढा रहेका कारण भएको हो ।
यो अध्ययनको महत्त्व यसकारण पनि उल्लेखनीय छ कि हालै मात्र लस एन्जलसको एउटा जुरीले युट्युब र इन्स्टाग्रामलाई ६ मिलियन डलर जरिबाना तिराउने निर्णय गरेको छ । एक युवतीको मानसिक स्वास्थ्य बिग्रनुमा यी ‘लत लगाउने’ (Addictive) एपहरू नै जिम्मेवार रहेको अदालतको ठहर छ ।
जानकारीका लागि फेसबुकको सुरुवाति नाम thefacebook.com थियो । यसको रङ निलो हुनुको पछाडि एक रोचक कारण छ । मार्क जुकरबर्ग ‘रेड-ग्रिन कलरब्लाइन्ड’ (रातो र हरियो रङ ठम्याउन नसक्ने) हुन् र निलो रङ नै उनले सबैभन्दा स्पष्टसँग देख्न सक्ने रङ हो ।















प्रतिक्रिया दिनुहोस्