धनगढी – नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर कैलाली जिल्ला स्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गते भित्र क्रियाशील सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएपछि त्यसको विरोधमा नेपाली काँग्रेस कैलाली जिल्ला सभापति नारायण भट्टको निर्देशनमा पार्टी कार्यालयमा ताला लगाइएको स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस्
बिहीबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकको काम जेठ २१ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको थियो ।
विशेष महाधिवेशनको पक्ष र विपक्षमा देखिएको आन्तरिक विवादकै बीच पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले सदस्यता अद्यावधिक प्रक्रिया रोक्नुपर्ने अडान लिएको बताइएको छ । कैलाली जिल्ला सभापति भट्ट पनि देउवा समूह निकट नेता मानिन्छन् ।
धनगढी स्थित कांग्रेस पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापति तथा अन्य नेता–कार्यकर्ताको उपस्थिति रहेको छ । कार्यालयको मूल गेटसँगै भित्रका कार्यकक्षहरूमा समेत ताला लगाइएपछि नियमित कामकाज प्रभावित बनेको छ ।
कार्यालयको पछाडि पट्टिबाट सिँढी प्रयोग गरेर केही नेता तथा कार्यकर्ता भित्र प्रवेश गरे पनि सबै कोठामा ताला लगाइएकाले प्रशासनिक गतिविधि सञ्चालन हुन सकेको छैन ।



















प्रतिक्रिया दिनुहोस्