जानकी । जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि गाउँपालिकावासी तथा सरोकारवालासँग राय–सुझाव माग गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउँदै विकास, सुशासन तथा जनहितसँग सम्बन्धित विषयमा सुझाव दिन आग्रह गरेको हो ।
यो पनि पढ्नुहोस्
गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी, जनमुखी र आवश्यकतामा आधारित बनाउन नागरिक तथा सरोकारवालाको सहभागिता आवश्यक रहेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाको समग्र विकास र सुशासन प्रवर्द्धनका लागि नागरिकका रचनात्मक सुझावलाई प्राथमिकताका साथ समेटिने उल्लेख गरिएको छ ।
गाउँपालिकाले राय–सुझाव इमेल, आधिकारिक फेसबुक पेज, लिखित वा मौखिक रूपमा पेश गर्न सकिने जनाएको छ । इच्छुक व्यक्तिले गाउँपालिकाको इमेल ठेगाना ito.janakimun1@gmail.com तथा आधिकारिक फेसबुक पेजमार्फत सुझाव पठाउन सक्नेछन् । साथै गाउँ कार्यपालिकाको कार्यालय, दुर्गौलीको प्रशासन शाखामा समेत प्रत्यक्ष रूपमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले आगामी जेठ १५ गतेभित्र सुझाव पठाउन आग्रह गर्दै नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा सक्रिय सहभागिताका लागि सम्पूर्ण गाउँपालिकावासी तथा सरोकारवालालाई अनुरोध गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्