लम्की, कैलाली । प्याकुरेल सेवा समाज नेपालको समन्वय तथा प्याकुरेल सेवा समाज नेपाल कैलाली शाखाको आयोजनामा सञ्चालित सामुदायिक विद्यालय स्तरीय सरसफाई सप्ताह कार्यक्रम सम्पन्न भएको छ।
यो पनि पढ्नुहोस्

सप्ताहव्यापी अभियानको अन्तिम दिन बालकल्याण माध्यमिक विद्यालय भुरुवा, सरस्वती माध्यमिक विद्यालय भुरुवा र कालिका माध्यमिक विद्यालय भुरुवामा सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाई, वातावरणीय स्वच्छता, नियमित हात धुने बानी, दाँतको हेरचाह तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गरिएको थियो। सरसफाईलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसमेत प्रदान गरिएको थियो।
समापन कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका १ नं. वडाका वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहनु भएको थियो। उहाँले समाज र विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउँदै आफू पदमा रहँदा वा नरहँदा पनि रचनात्मक तथा सामाजिक कार्यमा आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो। विद्यालयस्तरबाटै सरसफाई सम्बन्धी शिक्षा र चेतना प्रवाह गर्न सके स्वस्थ र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

विशिष्ट अतिथिका रूपमा लम्कीचुहा नगरपालिका १ नं. वडाका वडा सदस्य रामबहादुर चलाउने, प्याकुरेल सेवा समाज नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद प्याकुरेल तथा समाजका केन्द्रीय सदस्य महेन्द्र प्याकुरेल रहनु भएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले सरसफाई सम्बन्धी चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै समाजसेवा र जनचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक धर्मराज खनालले विद्यार्थीहरूको व्यवहार परिवर्तन तथा स्वस्थ जीवनशैली विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रम चिसापानी स्वास्थ्य केन्द्रका प्रमुख पदम प्रसाद प्याकुरेलले सहजीकरण गर्नु भएको थियो। उहाँले व्यक्तिगत तथा वातावरणीय सरसफाईका विषयमा विद्यार्थीहरूलाई जानकारी दिँदै स्वस्थ रहन सरसफाईको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन प्याकुरेल सेवा समाज नेपाल कैलाली शाखाका अध्यक्ष दीपेन्द्र खत्री प्याकुरेलले गर्नु भएको थियो। सप्ताहव्यापी अभियान अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा पुगेर सयौं विद्यार्थीलाई सरसफाई सम्बन्धी ज्ञान, जनचेतना तथा आवश्यक सरसफाई सामग्री वितरण गरिएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सरसफाई तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइनेछ। सरसफाई सप्ताह कार्यक्रमले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच स्वच्छता सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको विश्वास गरिएको छ।


















प्रतिक्रिया दिनुहोस्