बर्दगोरिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका मा बालविवाह न्यूनीकरण तथा किशोरी सशक्तीकरण अभियानमा सक्रिय भूमिका निर्वाह गरेका १० जना किशोरी समूहका सदस्यलाई सम्मान गरिएको छ।
यो पनि पढ्नुहोस्

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर ले सम्मानित किशोरीहरूलाई बधाई दिँदै बालविवाह अन्त्यका लागि परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले किशोरीहरूलाई सामाजिक परिवर्तनका संवाहकका रूपमा सक्रिय रहन आग्रह गर्दै शिक्षा, क्षमता विकास र नेतृत्व प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई गाउँपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, आर्थिक अवस्था कमजोर रहेका १३ जना किशोरी विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहज होस् भन्ने उद्देश्यले विद्यालय पोषाक, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।
दलित महिला अधिकार मञ्च कैलाली को आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता मञ्चकी अध्यक्ष सावित्रा घिमिरे ले गर्नुभएको थियो। कार्यक्रममा किशोरीहरूको शिक्षा, अधिकार, नेतृत्व विकास तथा बालविवाह अन्त्यका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा बालविवाहमुक्त समाज निर्माणका लागि किशोरीहरूको सक्रिय सहभागिता, अभिभावकको सचेतना तथा सरोकारवाला निकायहरूको समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए। आयोजकका अनुसार सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रमले किशोरीहरूको मनोबल वृद्धि गर्नुका साथै बालविवाहविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्