लम्की, कैलाली। खेल मैदानमा प्रतिस्पर्धा, युवामा उत्साह र स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित कैलालीको लम्कीचुहा नगरपालिका–४ अम्मरपुरमा तेस्रो अम्मरपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ।
यो पनि पढ्नुहोस्
‘युवा एकता, खेलकुदको विकास, दुर्व्यसनमुक्त समाज, समृद्ध राष्ट्रको प्रयास’ भन्ने नाराका साथ समानता युवा क्लबद्वारा आयोजित प्रतियोगिताको आइतबार एक समारोहबीच लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले उद्घाटन गर्नु भएको हो।
क्लबका अध्यक्ष धनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख जुना चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उद्घाटन समारोह कै अवसरमा नगर प्रमुख शाहीले क्लबको नवनिर्मित कार्यालय भवनको समेत उद्घाटन गर्नु भयो।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख शाहीले खेलकुद युवाको क्षमता, अनुशासन र नेतृत्व विकास गर्ने सशक्त माध्यम भएकोले खेलकुदले युवालाई सकारात्मक बाटोमा अघि बढाउनुका साथै दुर्व्यसनबाट टाढा राख्न र समाजमा एकता तथा सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न बताउनु भयो ।
नगर प्रमुख शाहीले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा नगरपालिकाले खेलकुद, खेल पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि ८० लाख रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको जानकारी समेत दिनुभयो।
प्रतियोगितामा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगिताको कुल पुरुस्कार राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।
स्थानीयस्तरमा लुकेर रहेका फुटबल प्रतिभालाई पहिचान गर्ने, खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने र युवालाई खेलकुदमार्फत सामाजिक रूपान्तरणको अभियानमा जोड्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको खेल सचिवालय संयोजक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो।















प्रतिक्रिया दिनुहोस्