बागलुङ — बागलुङको तमानखोला गाउँपालिका–२ भयरबोङ्गाका श्यामकुमार घर्ती लामो समय कामको खोजीमा भौतारिरहे, केही सीप नलागेपछि सन् २००७ मा गैरकानुनी रूपमै भए पनि बहराइन गए । बिचौलियाको सम्पर्कबाट १९ वर्षअघि बहराइन पुगेका उनीसँग श्रम स्वीकृति थिएन । बहराइन पुगेको ६ महिनामै उनी सम्पर्कविहीन भए । उनले त्यहाँ के–कस्तो काम गरे परिवारका सदस्यले खबर पाएनन् ।
छोरा बेपत्ता भए पनि सुस्तश्रवण (बहिरा) बुबा लालबहादुर घर्तीले छोराको खोजी गर्न सकेनन् । श्याम हिँडेको एक वर्षमै आमाले बुबालाई छाडेर गइन् । लालबहादुर ज्याला मजदुरी गरेर गाउँमै बसिरहे, छोराबारे केही पत्तै लागेन । गत वर्ष फागुनमा बहराइनस्थित नेपाली दूतावासबाट श्याम कोमामा छन् भन्ने खबर आयो । परिवारले पहल गर्न नसक्ने भएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, छिमेकी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मालगायतले बैदेशिक रोजगार बोर्डमा जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता गंगाकुमारी शर्माले आवश्यक कागजात दूतावासमा पठाउन सहयोग गरिन् । गैरकानुनी तवरले गएकाले दूतावासले श्यामको कम्पनी भेटेन । जसका कारण बिमा, राहत वा अन्य रकम उपलब्ध गराउने बाटो भेटिएन । प्रक्रियाबारे थाहै नपाएका लालबहादुरले छोराको खोजी गर्न सकेनन् । दूतावास र कूटनीतिक नियोगमा पनि खबर नभएकाले १९ वर्षसम्म के गरेर बसे भन्ने पनि थाहा हुन सकेन । पछिल्लो दुई वर्षदेखि श्याम बिरामी परेका रहेछन् ।
एक वर्षसम्म उनी पहिचानविहीन भए । कोमामा रहेको अवस्थामा भेटिएपछि उनको उपचार त भयो तर गैरकानुनी रूपमा बसेकाले उपचार खर्चसमेत नेपाल सरकारले तिर्नुपर्यो । पहिचान खुलेपछि भने उनलाई नेपाल पठाइयो । उनलाई नेपाल ल्याउन बहराइनको अस्पतालमा लागेको उपचार खर्च नेपाल सरकारले तिर्न बाध्य भयो । उनी अझै अशक्त छन् । घर फर्कंदा ४१ वर्षीय श्यामले आमा पाएनन्, बहिरा बुबा एक्लै छन् ।
केही वर्षअघि नै आमाले छाडेर गएको, घरको आर्थिक अवस्था पनि कमजोर भएकाले उनको परिवार बिचल्लीमा छ । ओछ्यान परिरहेका उनलाई गाउँपालिकाले खाने, बस्ने खर्च दिएको छ । अध्यक्ष बुढाले आफ्नै खर्चमा उनको घरमा टीभी जोडिदिएका छन् । २०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी कन्सुलर र दूतावासबाट माग भएअनुसारका कागजात पठाएपछि एक वर्षमा श्याम नेपाल आइपुगेका हुन् ।
बहराइनस्थित नेपाली दूतावासमा कार्यरत कर्मचारी सुनीता थापाले गैरकानुनी अवस्थामा बसेकाले उपचार खर्चसमेत नेपाल सरकारले तिर्नुपरेको बताइन् । राहत र बिमा रकम उपलब्ध गराउन नसकिने भएपछि स्थानीयसँग चन्दा उठाएर भए पनि उपचार कोष बनाउन पहल भएकामा खाडी मुलुकमा भएको द्वन्द्वले असर परेको उनको भनाइ छ । बहराइन–बागलुङ सम्पर्क समितिका महासचिव भवबहादुर कुँवरले श्यामलाई घर फर्काउने प्रयास सफल भएकाले अब उपचार खर्च जुटाउन प्रयास गर्ने बताए ।
तर पश्चिम एसियामा जारी द्वन्द्वका कारण घर बाहिर निस्कने अवस्था नभएपछि तत्कालका लागि त्यो सम्भव नभएको उनको भनाइ छ । बहराइनमा श्यामको उपचार खर्चबापत नेपाल सरकारले झन्डै १५ लाख रुपैयाँ तिरेको छ । उक्त रकम तिर्न मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपरेको अध्यक्ष बुढाले बताए । ‘यस्तो समस्या पर्ने हरेकलाई मन्त्रिपरिषद्को निर्णय गराइरहने काम सजिलो छैन,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदा कानुनसम्मत र विधि पुर्याएर जानुपर्छ ।’
हरेक वर्ष विदेशमा मृत्यु हुनेमा धेरैजसो गैरकानुनी रूपमा गएका, तोकेको भन्दा फरक काम गर्ने, समयमा श्रम स्वीकृति नवीकरण नगरेकाहरू बढी छन् । सदरमुकामदेखि १२० किमि पश्चिमको तमानखोला–२ स्थित भयरबोङ्गा गाउँको घरमा श्याम बुबाको साथमा बस्छन् । ‘खोजी उद्धार गरेर ल्याउनसमेत समस्या भयो, हामीले पनि धेरै प्रयास गरेपछि मात्र ल्याउन सकियो,’ गाउँपालिका अध्यक्ष बुढाले भने, ‘अहिले पालिकाकै सहयोगमा उनीहरूको दैनिकी चलेको छ ।’
सधैं पालिकाले साथ दिन नसक्ने उनले बताए । मानवीय नाताले सहयोग गरे पनि प्रक्रियागत रूपमा अप्ठ्यारो पर्दा उनीहरूको बिचल्ली हुने अवस्था रहेको बुढाले जानकारी दिए । गैरकानुनी रूपमा बसेकाले उनले के काम गरे, कति कमाए वा कमाएन् भन्ने यकिन नभएको आप्रवासी स्रोत केन्द्र बागलुङकी परामर्शकर्ता शर्माले बताइन् । ‘हामीले सुरक्षित रूपमा गाउँमा ल्याउन त सक्यौं, तर परिवारकै बिचल्ली छ,’ शर्माले भनिन्, ‘यस्तो अवस्थाका व्यक्तिलाई सहयोग गर्न राहत कोष बनाउन आवश्यक छ ।’
पछिल्लो समय गैरकानुनी रूपमा विदेश जानेहरू यस्तै समस्यामा पर्दै गएको उनले सुनाइन् । गैरकानुनी रूपमा विदेश गएकाहरूको त्यहाँ उपचारसमेत नहुने भएपछि नेपालबाट खर्च भराउनुपर्ने समस्या हुने गरेको उनले बताइन् । केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा गैरकानुनी रूपमा विदेशमा गएका बागलुङका मात्र ७ जनाको मृत्यु भएको छ । १० जना श्रम स्वीकृति भएकाहरूको ज्यान गएको छ । तीमध्ये एक जना महिला पनि छिन् । चालु आर्थिक वर्षमा बागलुङका १ सय ३८ जना समस्यामा परेका कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीमा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश ४० वर्षभन्दा कम उमेरका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी साउदी अरबमा कार्यरत छन् ।



























प्रतिक्रिया दिनुहोस्