साँफेबगर, अछाम । अछामको मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलुमारे–ढकारी सडक खण्डमा निर्माण कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। सडक डिभिजन साँफेबगर, अछामले ठेक्का तोडिएपछि सरकारी बाँकीसरह असुल गर्नुपर्ने ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ ७२ पैसा दाखिला गर्न निर्माण कम्पनीलाई ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
यो पनि पढ्नुहोस्
सडक डिभिजन कार्यालय, साँफेबगरका अनुसार उक्त सडक खण्डमा सडक कटिङ तथा संरचनात्मक निर्माण कार्यका लागि कश्यप निर्माण सेवा एण्ड सप्लायर्स, कलंकी, काठमाडौंसँग २०७९ बैशाख १६ मा सम्झौता भएको थियो। कुल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको थियो । तर, सम्झौता बमोजिम कार्य सम्पन्न नगरेपछि २०८३ असार १५ मा ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख छ। ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको बताईन्छ ।
ठेक्का अन्त्य भएपछि बाँकी काम सम्पन्न गराउन लाग्ने लागत तथा त्रुटिपूर्ण काम सच्याउन लाग्ने खर्चसमेत समेटेर निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने रकम कायम गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९० (१) र (३) बमोजिम रकम असुल हुन नसकेपछि सोही नियमावलीको नियम ९० (५) अनुसार सम्बन्धित निर्माण व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राजश्व शिर्षक नं. १४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत शिर्षकमा तोकिएको राजस्व खातामा रकम दाखिला गर्न भनेको छ।
तोकिएको अवधिभित्र रकम दाखिला नगरेमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ (३) तथा नियमावलीको नियम ९० (५) बमोजिम सरकारी बाँकीसरह असुल उपर गर्न आवश्यक कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।

यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाहरुको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरुमा साँफे–मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक, मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।
















प्रतिक्रिया दिनुहोस्