शनिबार, १६ जेष्ठ २०८३, ०३:३१
शनिबार, १६ जेष्ठ २०८३, ०३:३१

लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया?

कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया?, नीति देखि बजेटसम्म - प्रदेश सरकारको तयारी
|
१२ मिनेट पढ्ने समय
0
lamki hospital news May 24 2026

लम्की । लम्कीचुहा अस्पताललाई १५ शैयाबाट ५० शैयाको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने विषय अहिले सुदूरपश्चिम प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीचको गम्भीर विवाद बनेको छ ।

हाल लम्कीचुहा अस्पताल ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा आई नागरिकहरूले विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय र सहज स्वास्थ्य सेवा पाउनु पर्नेमा अस्पताल स्तरोन्नतिसँग जोडिएको विवाद राजनीतिक आरोप–प्रत्यारोप, तालाबन्दी, अदालत र आन्दोलनसम्म पुगेपछि यसको प्रत्यक्ष असर स्वास्थ्य सेवा प्रवाह मै परेको छ । विवाद लम्बिँदै जाँदा अस्पतालको सेवा विस्तार, जनशक्ति व्यवस्थापन, उपकरण सञ्चालन तथा उपचार प्रणाली प्रभावित बनेको छ भने स्थानीय नागरिक अपेक्षित स्वास्थ्य सेवाबाट अझै वञ्चित हुन बाध्य बन्नु परेको छ ।

यो पनि पढ्नुहोस्

लम्कीचुहा प्रादेशिक अस्पताल विवाद : के–के हुन् मुख्य घटनाक्रम ?
२०८३ जेष्ठ १३ गते, बुधबार
८३ स्थानीय तहले जिम्मेवारी घटी सारे, २६८ पालिकाले गरेनन् आन्तरिक लेखापरीक्षण
२०८३ जेष्ठ ३ गते, आईतवार
७७ लाखको सफ्टवेयर किनेर प्रयोग नै गरेनन्, १५ स्थानीय तहले
२०८३ जेष्ठ ३ गते, आईतवार

यस परिस्थितिमा अहिले सबैभन्दा ठूलो प्रश्न उठेको छ — आखिर लम्कीचुहा प्रादेशिक अस्पताल विवादको निकास कहिले र कसरी निस्कन्छ ?

कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया ?, विवाद चर्किनुका मुख्य घटनाक्रम, कहाँ कहाँ भयो चुक ? कसरी टुंगिएला अस्पताल विवाद ?

यस श्रृंखलाको पहिलो खण्डका रूपमा “कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया ?” विषय प्रस्तुत गरिएको छ । यस खण्डमा लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रक्रिया कसरी अघि बढ्यो, प्रदेश सरकार र स्थानीय तहबीच भएका प्रारम्भिक निर्णय तथा घटनाक्रमबारे चर्चा गरिएको छ ।

कसरी सुरु भयो अस्पताल स्तरोन्नतिको प्रक्रिया?

लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया अचानक सुरु भएको भने होइन। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम मार्फत लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने विषय औपचारिक रूपमा अघि आएपछि त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया क्रमशः अगाडि बढेको देखिन्छ ।

२०८० जेठ २४ मा प्रदेश प्रमुख देवराज जोशीद्वारा प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नं. ८२ मा “हाल स्थानीय तहबाट सञ्चालित बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेलधुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्न स्थानीय तहसँग समन्वय र साझेदारी गरिने” भनी उल्लेख गरिएको छ । यसले लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने विषय प्रदेश सरकारको औपचारिक नीतिगत प्राथमिकतामा परेको स्पष्ट देखिन्छ ।

sp p 001

नीति तथा कार्यक्रममा स्थानीय तहसँग समन्वय र साझेदारी गरी लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गरिने उल्लेख भएसँगै २०८१ असोज १७ गते लम्कीचुहा अस्पताल विकास समितिको बैठकको निर्णय नं. ९ बाट अस्पताल स्तरोन्नति गर्न पहल गर्ने सम्बन्धी निर्णय भएको थियो ।

sl 0001

त्यसपछि २०८१ कार्तिक ११ मा बसेको लम्कीचुहा नगरकार्यपालिकाको ४९ औँ बैठकको निर्णय नं. १ मार्फत नगरपालिकाद्वारा सञ्चालित १५ शैयाको अस्पताललाई स्तरोन्नति गरी सो क्षेत्रका नागरिकको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न ५० शैयाको प्रादेशिक अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो ।

lc nirnaya 001

नगरकार्यपालिकाको निर्णय पश्चात २०८१ पौष ०४ गते लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै नगर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिदिन सिफारिस गरेको थियो । उक्त पत्र २०८१ पौष ८ गते मन्त्रालयमा दर्ता नं. १९५५ मा दर्ता भएको देखिन्छ ।

lc letter 2082090401

लम्कीचुहा नगरपालिकाबाट सिफारिस प्राप्त भएपछी सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रदेश मातहत सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको देखिन्छ । यसै क्रममा २०८१ फागुन २० गते बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को २०३ औँ बैठकले लम्कीचुहा अस्पताललाई ५० शैयामा स्तरोन्नति सहित प्रदेश सरकार मातहत हस्तान्तरणका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो ।

cm meeting 20811120

उक्त निर्णयसँगै २०८१ चैत २० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लम्कीचुहा अस्पताललाई ५० शैयामा स्तरोन्नति सहित प्रदेश सरकार मातहत हस्तान्तरण गर्न सम्बन्धित टिप्पणी फाइल औपचारिक रूपमा अगाडि बढेको देखिन्छ । उक्त फाइलमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा सञ्चालित अस्पताललाई स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सम्बन्धी विषय उल्लेख छ ।

municipal letter 004

त्यसपछि २०८२ जेठ २६ गते बसेको संघीय मन्त्रिपरिषद् बैठकले १५ शैयाको लम्कीचुहा अस्पताललाई स्तरोन्नति गरी ५० शैयाको अस्पतालका रूपमा प्रदेश मातहत सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

pd municipal letter 003

यसरी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट सुरु भएको लम्कीचुहा अस्पताल स्तरोन्नतिको प्रक्रिया अस्पताल विकास समिति, नगरकार्यपालिका, प्रदेश सरकार तथा संघीय सरकारको स्वीकृतिसम्म क्रमशः अगाडि बढेको देखिन्छ ।

नीति देखि बजेटसम्म – प्रदेश सरकारको तयारी

संघीय मन्त्रिपरिषद्‍बाट लम्कीचुहा अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्राप्त हुनु अघि नै आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा उक्त अस्पताललाई प्रदेश तहको अस्पतालका रूपमा स्तरोन्नति गर्ने विषयलाई पुनः समेटिएको देखिन्छ ।

२०८२ जेठ १६ गते प्रदेश प्रमुख नजिर मियाँद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नं. ६७ मा आधारभूत अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई स्तरोन्नति गर्दै स्थानीय तहबाट सञ्चालित डडेलधुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई प्रदेश तहको अस्पतालका रूपमा स्तरोन्नति गर्दै लगिने उल्लेख छ ।

sp p 002

जेठ २६ मा संघीय सरकारले लम्कीचुहा प्रादेशिक अस्पताललाई स्वीकृति दिएपछि २०८२ असार १ गते सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको बुँदा नं. १४४ मा कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न आवश्यक प्रबन्ध मिलाएको उल्लेख छ ।

sp p 003

चालु आर्थिक वर्षमा लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालन, व्यवस्थापन तथा आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु तथा पुँजीगत शीर्षक अन्तर्गत करिब ६ करोड ३७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको देखिन्छ ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ३ करोड रुपैयाँ, आवश्यक औजार तथा उपकरण खरिदका लागि १ करोड रुपैयाँ, स्थानीय तहबाट सञ्चालित दार्चुलाको गोकुलेश्वर अस्पताल, कञ्चनपुरको बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र, कैलालीको लम्कीचुहा अस्पताल र बाजुराको कोल्टी अस्पताल स्तरोन्नति १ करोड ५० लाख तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जोगबुढा र लम्कीचुहा अस्पतालमा हाई–इन्ड डीआर मेसिन खरिद तथा जडानका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

yojana list

यसले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने बिषय प्रदेश सरकारको नीतिगत तथा बजेट प्राथमिकतामा रहेको देखाउँछ ।

यद्यपि अस्पताल सञ्चालन तथा स्तरोन्नतिका लागि विनियोजित बजेट विवादका कारण कार्यान्वयन हुन नसक्दा ठूलो हिस्सा खर्च हुन नपाई फ्रिज हुने जोखिम समेत बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😊 खुशी
😢 दुखी
😲 अचम्म
😡 रिसाएको
😐 ठिकै
पालिका दर्पण
लेखकको बारेमा

पालिका दर्पण

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च

ताजा अपडेट

ट्रेन्डिङ