जानकी । जानकी गाउँपालिका–८, खैरीपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयको शैक्षिक अवस्था, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे खुला छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।
यो पनि पढ्नुहोस्
सामाजिक परीक्षण समितिका संयोजक तथा शिक्षक–अभिभावक संघका अध्यक्ष रामफल थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार तथा विद्यालयले सामना गरिरहेका चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विद्यालयको समग्र सुधारका लागि विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
उक्त अवसरमा विद्यालयको शैक्षिक विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याए वापत पूर्वप्रधानाध्यापक खेतबहादुर चौधरीलाई सम्मान गरिएको थियो। त्यसैगरी, यही विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरी हाल एम.बी.बी.एस. चिकित्सकका रूपमा कार्यरत पूर्वविद्यार्थी डा. रविन्द्र सञ्जयलाई समेत सम्मान गरिएको थियो।
जानकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तीर्थराज उपाध्याय प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विशिष्ट अतिथि शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धर्मानन्द कपाडी लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।















प्रतिक्रिया दिनुहोस्